a personal homepage

‌ओझेलमा नै छन् पाँचपोखरी र भैरवकुण्ड

राजन न्यौपाने
श्रावण शुक्ल पुर्णिमाका दिनमा मनाईने जनैपूर्णिमाका अवसरमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी र भैरवकुण्डमा ठुलो मेला लाग्ने गर्दछ। हिन्दु तथा बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र यी दुई धार्मिक स्थहरुको मानव विकासक्रममा महत्वपूर्ण स्थान रहेको विश्वास गरिन्छ। पर्याप्त महत्व नदिनाले यस क्षेत्रको प्राकृतिक तथा धार्मिक महत्व ओझेलमा परेको छ। राजधानी नजिकैको यी दुई पर्यटकिय तथा धार्मिक महत्वका ठाँउहरुका बारेमा ब्यापक प्रसार प्रसार गर्न सके यहाँ भ्रमण गर्ने पर्यटकहरुको संख्यामा विकास हुनगई स्थानीय जनताको आर्थिक अवस्था धेरै माथि उठ्ने सम्भावना छ।

जिल्लाका यी धार्मिक तथा आर्थिक महत्वका स्थानहरुका बारेमा जिल्लाभित्रकै धेरैलाई ज्ञान नभएको पाइन्छ । प्रचार प्रसारको कमी तथा मेला भर्न आउने यात्रिको लागि बसोवास तथा खानपिनमा असहज परिस्थितिले गर्दा जिल्लाभित्रका यी स्थानहरुमा आन्तरीक तथा वाह्य पर्यटकलाई प्रचुर मात्रामा आर्कषण गर्न सकिएको छैन । कठिन गोसाँइकुण्ड यात्रामा निस्कने सिन्धुवासीलाइ मात्र भएपनि पाँचपोखरी र भैरवकुण्डको धार्मिक महत्वका वारेमा जानकारी दिनसकेपनि यस क्षेत्रमा आउने पर्यटक संख्यामा व्यापक सुधार आउन सक्छ ।

पाँचपोखरी

\"Panchसदरमुकाम चौताराबाट पदयात्रामा दुई दिन टाढा पर्ने पाँचपोखरी जिल्लाको उत्तरपश्चिम स्थित भोताङ गाविसको वडा नं १ मा अवस्थित छ । काठमाडौंबाट मेलम्चीसम्मको बस यात्रापछि तिपेनी थाङपालधाप हुँदै एकदेखि डेढ दिनमा पाँचपोखरी पुग्न सकिन्छ । भैरवकुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरी पाँचवटा कुण्ड अर्थात पोखरी रहेकोले यस स्थानको नाम पाँचपोखरी रहन गएको हो ।

हरेक बर्ष जनै पुर्णिमाका अवसरमा यहाँ एक हप्ता मेला लाग्छ । यस मेलामा विशेष गरी तामाङ जातिका झाँक्रीहरू बढी जाने र झाँक्री पहिरनमा ढ्याङ्ग्रो बजाएर नाच्ने गर्छन् । हिजोआज महिला झाँक्रीको संख्या पनि उल्लेख्य रुपमा बढ्दै गएको पाइन्छ । दुइतीन पटकसम्म उक्त मेला भरेर फर्केपछि मात्र झाँक्रीहरू विशेष रुपमा पारङगत भएको मान्ने चलन यहाँ रहेको पाइन्छ ।

इन्द्रावती र ब्रम्ह्ययणी (बलेफी) नदीको उद्गम स्थलका रूपमा रहेको पाँचपोखरीमध्ये सबैभन्दा ठूलो पोखरी सरस्वती कुण्ड हो । यो कुण्ड बीच भागमा पर्दछ । वैज्ञानिक रूपमा कुण्डको गहिराई मापन नभएकोले ठ्याक्कै यति गहिराइ नै हो भन्न नसके यसको चारैतिर परिक्रमागर्न लाग्ने झण्डै एक घण्टा भन्दा बढी समयले यो कुण्ड निकै नै गहिरो हुन सक्ने अनुमान लगाउन सकिन्छ । यहाँका कुण्डमा दुइ जोडी राजहाँस अटुट रूपमा रहिरहेको पाइन्छ । जुनसुकै मौसममा पनि यसरी जोडी राजहाँस रहनु यहाँको एउटा अचम्मको विशेषता मानिन्छ । यस क्षेत्रमा होहल्ला हुँदा, बाजागाजा बजाउँदा हिँउ पर्ने कुरामा पनि धेरैले विश्वास गर्दछन् । धेरै बर्षअघि गोले थरका झाँक्री आफ्नै असावधानीका कारण तान्त्रिक विद्यामा नाग कुण्डको नागद्धारा पराजित भइ मृत्यु भएका कारण हालसम्म पनि गोले थरका मानिसहरू नाग कुण्डमा जाने नगरेको स्थानीय बासिन्दाहरू बताउँछन् ।

पाँचपोखरीको धार्मिक तथा ऐतिहासीक महत्व

स्कन्ध पुराण केदार खण्डका अनुसार सत्ययुगमा दक्षप्रजापतिद्वारा आयोजित यज्ञमा महादेवलाई नबोलाएकोमा सतीदेवीले गुनासो गर्दा पिताको मुखबाट पतिको निन्दा भएको सहन नसकी सोही यज्ञकुण्डमा हामफाली देहत्याग गर्नुभएको र शिवले सतीदेवीको मृत शरीरलाई बोकेर हिंड्दा सतीदेवीको सम्पूर्ण शरीर पतनपश्चात् शिवले उत्तरापन्थमा तपस्या गर्न जाँदा सिंहमती नदीको शिरमा एक पाइला टेकेपछि त्यस ठाँउमा पादुका आकारको सानो तलाउ र नयाँ लिङग सिर्जना भयो । नयाँ लिङगको नाम नवलिङगबाट अपभ्रंश भएर कालान्तरमा नौलिङग रहन गएको बयान छ । सो नौलिङग डाँडा यसै जिल्लाको लागर्चे गाविसमा पर्दछ भने सिंहमती नदी झ्याडी खोलाको नामले परिचित छ । त्यसैगरी नौलिङग डाँडाको उत्तरपूर्वको सामुन्ने पारिपट्टीको डाँडामा शिवले पाँच रात उपवास बसी पाँचवटा दहमा नुहाएको हुँदा पाँचपोखरी नामकरण भएको भन्ने भनाइ छ । यहाँका कुण्डमा स्नान गर्नाले पाप नाश हुन्छ भन्ने विश्वास रहेको पनि पाइन्छ ।

त्यसैगरी स्कन्ध पुराणमा हिमवत् खण्डमा पनि पञ्चपोखरी नामको महान् तिर्थस्थल रहेको र तीर्थराज प्रयाग, वाँणगङ्गा (कुरुक्षेत्र) र पाँचपोखरी समान रूपले पुण्यदायी तीर्थ हुन् भनी उल्लेख रहेको पाइन्छ । शिव पुराणअनुसार हिमालयपुत्री पार्वतीले घोर तपस्या गर्नुभएपछि शिव प्रसन्न हुनुभई इन्द्रको रूपधारण गरी वरदान माग भन्नुभयो । पार्वतीले महादेव पति पाँउ भन्नुभएपछि इन्द्ररुपी महादेवले शिवको निन्दा गर्दै \"आफूसँग विवाह गर\" भन्नुभयो । त्यो सुनेर पार्वती क्रोधित हुनु्भइ श्राप दिन लाग्नुहुँदा शिव त्रसित हुनु भइ आफ्नै रूपमा दर्शन दिनुभयो । शिवको साक्षात् दर्शन पाएपछि पार्वतीका दुइ लाल नेत्रबाट हर्श्रासुधारा बग्नथाल्यो । सोही अश्रुधाराबाट दुइवटा नदी बन्यो, इन्द्रको रूप लिएर परमब्रम्हाको दर्शन दिनुभएको कारण ती नदीको नाम \"इन्द्रावती\" र \"ब्रम्हायणी\" (बलेफी) रहन गएको र ती दुवैको उद्गम स्थल पाँचपोखरीको डाँडा भएको हुँदा यसको छुट्टै महत्व रहेको छ । 

पाँचपोखरीमा विश्वामित्र र शृङ्गी ऋषिले तपस्या गनुभएको थियो भन्ने धामिर्क किंवदन्ती पाइन्छ । ऐतिहासिक दृष्टिकोणबाट पनि यस क्षेत्र अगाडी नै छ । रणबहादुरकी जेठी महारानी राजेश्वरीले हेलम्बुमा तीन बर्षसम्म निर्वासित जीवन बिताउनुभएको थियो भने प्रधानमन्त्री भीमसेन थापा लखेटिँदा पनि यसै जिल्लामा बस्नुभएका थिए । भीमसेन थापाले चलाएको पाँचपोखरी दर्शनार्थ जानेहरूलार्इ दही, चिउरा खुवाउने चलन अझै पनि कायमै छ ।

आर्थिक महत्व

करिब ९७ प्रतिशत तामाङ जातिको बसोबास रहेको भोताङ गाविस वडा नं. १ मा पर्ने पाँचपोखरी स्थानमा कुनै बसोबास छैन । गाँउ क्षेत्रबाट पूरै एक दिन लाग्ने पाँचपोखरी लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ । सुनपाती, भैरङपाती, धुपीलगायतका वनस्पतिहरू पाइने उक्त स्थान समुन्द्री सतहबाट ४,१५१ मिटरको उचाइमा रहेको छ । सामान्यतया यहाँ पदयात्रामा जाँदा लेक लाग्ने गर्दछ ।

प्रत्येक बर्ष असोज-कार्तिकमा विदेशी पर्यटकहरू पदयात्रामा आउने यो क्षेत्र पर्यटकीय र धार्मिक दृष्टिले मात्र महत्पूर्ण नभइ जडीबुटीको भण्डारका रूपमा समेत परिचित छ । यहाँ विश्वमै दुर्लभ मानिएका पाँच किसिमका रैथाने प्रजातिका वनस्पति फेला परेका छन् । विश्व वन्यजन्तु कोषको एक टोलीले गरेको भौगोलिक एवं जैविक विविधतासम्बन्धमा साताव्यापी स्थलगत अध्ययन अनुसार मेकोनोसिस, क्रेमान्योजियम, कोरिडालीस, बारबेरीस र स्थानीय भाषामा जङगली जिराको नामबाट परिचित क्यारामकुर्मी जातका वनस्पति फेला परेका छन् । सो क्षेत्रमा अवस्थित एकोटिमग्यामी र एपिक्याट्मल नामक प्रजातिका जडीबुटी लोप हुने अवस्थामा पुगेकोले त्यसको सङकलन र बिक्री वितरणमा समेत रोक लगाउनुपर्ने सुझावसमेत टोलीले दिएको थियो । त्यस्तै यार्सागुम्वा, पाँचऔ‌ले, पदमचाल, रक्तचन्दनलगायतका ६४ प्रजातिका जडीबुटी यस क्षेत्रमा पाइएको टोलीले बताएको छ । मृग, हाब्रे, जस्ता वन्यजन्तुसमेत फेला यस क्षेत्रमा फेला परेका छन् ।

भैरवकुण्ड

\"Bhairabअरनिको राजमार्गको १०९ किलोमिटरमा पर्ने तातोपानी गाविसको लार्चाबाट अप्ठेरो ठाडो उकालो भीरको बाटो हिडेर डेढ दुई दिनमा भैरवकुण्डमा पुगिन्छ । समुद्री सतहबाट छ हजार ५६७ मिटरको उचाइमा पर्ने फुर्वीघ्याचु भञ्ज्याङको फेदीमा अवस्थित भैरवकुण्ड समुन्द्री सतहबाट चार हजार १२४ मिटरको उचाइमा पर्छ । स्थलरुपी नापी महाशाखाको तथ्याङ्कअनुसार ८४ हजार १९३ वर्गमिटरमा फैलिएको विशाल ताल अति मनमोहक रहेको छ तर तालको गहिराइको मापन भने गरिएको छैन ।

भैरवकुण्डकै पानीले कुण्डभन्दा केही तल नेपालकै दोस्रो १९८ मिटर अग्लो भैरवकुण्ड छहरा पर्दछ ।

भैरवकुण्डको धार्मिक तथा ऐतिहासीक महत्व

महादेवको उग्ररुप अर्थात भैरब सम्हारकर्ताका रुपमा मानिन्छ। भगवान शिवको क्रिडास्थलका रुपमा भैरवकुण्डलाई लिने गरेको पाईन्छ। भैरवकुण्डमा पनि जनैपूर्णिमाका दिनमा ठुलो मेला लाग्ने गर्दछ ।

वि.स. १९११ मा भोटसंगको युद्धको बेला निर्मित ऐतिहासिक दुगुनागढि पनि यसै क्षेत्रमा रहेको छ यधपी संरक्षणको अभाव र प्रचारप्रसारको कमिले यो जिर्ण हुँदै गएको छ ।

त्यसैगरी भैरवकुण्ड यात्राकै क्रममा पर्ने लिस्ती गाविस-९ मा प्रख्यात लिस्तीमाई अर्थात् उग्रचण्डी भगवती मन्दिर रहेको छ । मल्लकालमा स्थापित उक्त भगवतीको मन्दिर जिल्लाकै प्रख्यात मानिन्छ । त्यसको १५ किलोमिटर माथि छगाम गाँउमा आनी बस्ती रहेको छ । त्यहा बुद्ध धर्मका अनुयायी आनी बस्ती ज्यादै मनमोहक र शान्त वातावरणमा रहेको छ । त्यहाँ लामा भाषामा बुद्धसम्बन्धी पठनपाठन हुनेगर्दछ ।

आर्थिक महत्व

तिब्बतको खासा तथा कुतीसम्मको भूभाग र काठमाडौको धरहरासमेत स्पष्ट देखिने भैरवकुण्डबाट मनमोहक नेपाल तथा तिब्बतका हिमालहरु देख्न सकिन्छ। भदौदेखि कात्तिक र चैतदेखि जेठसम्म पर्यटक जाने सो स्थानमा युरोपियन, अमेरिकन र जापानी पर्यटक बढी आउने गरेको र सरदर एक हप्तासम्म बस्ने गरेको स्थानीयवासी बताउछन् ।

ठण्डा हावापानीको यस क्षेत्र यार्सागुम्बा, सुनपाती, पाँचऔंले, ठूलोओखती, जटामसी, नीरमसी, मजेठो, चिराइतोलगायतका जडीबुटीको भण्डार हो। त्यसैगरी भैरवकुण्ड बाघ, भालु, चितुवा, ब्वाँसो, बादेल, थारल, घोरल, हिउचितुवालगायतका दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो।